News अझै उधारो मै खेल्दै ए डिभिजन क्लबहरु –पत्रसहित)
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको शहिद स्मारक ए डिभिजन लिगको शुक्रबारदेखि २१औं चरणका खेलहरु सम्पन्न भए तापनि सहभागि क्लबहरु भने अझै अन्यौलता मै रहेर प्रतिस्पर्धा गर्न बाध्य छन् ।

पछिल्लो समय आफ्नो कार्यशैली कारण चर्को आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबहरुसँग गरेको सम्झौता पूर्ण रुपमा पालना नगर्दा क्लबसँगै खेलाडीहरुमा पनि आक्रोशसँगै निराशा थपिएको छ ।

एन्फाले क्लबहरुलाई दिने भनेको तयारी खर्च र गत वर्षको बाँकी रकम पनि उपलब्ध गराउन नसकेपछि हाल लिग खेलिरहेका अधिकांश ए डिभिजन क्लबहरु आर्थिक मारमा समेत परेका छन् ।

एन्फालाई सचेत बनाउन तथा यसैबारे समसामयिक विषयमा जानकारी गराउन ए डिभिजन क्लबहरुले शुक्रबार पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन् । जारी लिग डबल राउण्ड रोबिनका आधारमा भई रहे तापनि क्लबहरुले खेलिसकेको खेलहरुको म्याच मनि समेत अझै नपाएको गुनासो गरेका छन् । साथै अहिलेसम्म आफूहरुले पर्याप्त म्याच बल पनि नपाएको क्लबहरुको दुःखेसो छ ।

त्यति मात्र नभएर फितलो बजार व्यवस्थापनसँगै एन्फाको कमजो कार्यशैलीका कारण व्यापारिक घरानाहरुले फुटबलमा प्रायोजन गर्न चासो लिन समेत छाडेको क्लबहरुले बताए । क्लब सञ्चालन गर्न सञ्चालकहरुले आफ्नै खर्च कटाएर क्लबमा लगानी गर्दा आफूहरुलाई थप आर्थिक मार परेको क्लबहरुको ठम्याई छ ।

त्यस्तै युवा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ एन्फासँगको सहकार्यमा विभिन्न क्लबहरुद्वारा सञ्चालित फुटबल एकेडेमी सञ्चालनमा एन्फा नै उदासिन बनेको क्लबहरुको आरोप छ । यही अवस्था कै कारण एकेडेमीहरु बन्द हुने स्थितिमा समेत पुगेको जानकारी गराइयो ।

अव्यवस्थित लिगतालिकासँगै लिगको खेलहरु प्रत्यक्ष प्रसारणमा समेत समस्या देखिंदा खेलाडीहरुसँगै दर्शकहरुमा थप निराशा थपिएको क्लबहरुको बुझाई छ । यसले समग्र नेपाली फुटबल मै नकरात्मक असर पर्ने पनि क्लबहरुले अवगत गराए ।

त्यसैगरी राष्ट्रिय फुटबल टोलीको व्याक अप टिमका रुपमा रहेको यु–२३ फुटबल टोलीलाई एएफसी यु–२३ एसियन कप छनौटमा सहभागि गराउन नसक्नुमा एन्फाको नेतृत्व पक्ष कै कमजोरी रहेको क्लबहरुको आरोप छ ।

स्मरण रहोस, बजेट अभावका कारण नेपालले एएफसी यु–२३ एसियन कप छनौटमा सहभागिता जनाउन नसक्ने एन्फाले जनाएको थियो । साथै एन्फाको यो निर्णय बाहिरिएसँगै नेतृत्व पक्षको चर्को आलोचना समेत भएको थियो र अहिले पनि भईरहेको छ ।

एन्फा पक्ष फुटबल भन्दा आफ्नै स्वार्थ र सेवा सुविधामा अल्मलिएको क्लबहरुको आरोप छ । यसरी सिमित स्रोत र साधनका बीच निरन्तर फुटबल खेल्न असम्भव रहेको पनि क्लबले जानकारी दिए । साथै लिगको पुरस्कार रकम पाउने, आगामी वर्ष लिग हुने र क्लबहरुले खेल्नेमा पनि आशंका व्यक्त गरे ।

हेर्नुहोस क्लबहरुको पत्रको पूर्ण अंशः

Post Comments