News दोस्रो स्थानमा फर्कियो मच्छिन्द्र, संकटा र थ्रीस्टार दबाबमा
गोलनेपाल

काठमाडौं । पछिल्लो समय ृउत्कृष्ट लयमा देखिएको साविक विजेता मच्छिन्द्र फुटबल क्लब जारी शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो र जावलाखेललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिन सफल भयो ।

मच्छिन्द्रको जितमा ओलावाले आफिजले ह्याट्रिक गरे । उनले खेलको १६औं मिनटमा पहिलो गोल गरे भने पहिलो हाफ कै अतिरिक्त समयमा दोस्रो गोल थपे । त्यस्तै दोस्रो हाफतर्फ ५६औं मिनटमा तेस्रो गोल गर्दै ओलावालेले आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको जित पनि सुनिश्चित गरे ।

उता सातदोबाटोका लागि ८३औं मिनटमा जोर्डन पुन मगरले एक मात्र सान्त्वना गोल फर्काए तर टोलीलाई खेलमा फर्काउन सकेनन् ।

यो नतिजापछि २३ खेलबाट ३९ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ र लिगलिडर चर्च ब्वाईज युनाइटेड भन्दा दुई अंकले मात्र पछाडी छ । तेस्रो स्थानमा ३७ अंकका साथ जावलाखेल छ । त्यस्तै पराजित सातदोबाटो भने २९ अंकका साथ सातौं स्थानमा झरेको छ ।

बराबरी खेल्दै संकटा र थ्रीस्टार दबाबमा

त्यसैगरी च्यासल स्टेडियममा भएको खेलमा दुई संघर्षरत टोली संकटा क्लब र थ्रीस्टार क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यद्यपि यो नतिजाले दुवै टोलीलाई थप दबाब थपिएको छ ।

समान २७–२७ अंक बटुलेका थ्रीस्टार र संकटा क्रमशः रेलिगेशन क्षेत्र नजिक ११ र १२औं स्थानमा छन् । र रेलिगेशन क्षेत्रको टोली फ्रेण्डस क्लब भन्दा तीन अंकले मात्र अगाडी छन् ।

 

Post Comments