News कमलले ब्रिसबेनका लागि खेल्ने
गोलनेपाल

काठमाडौं । भर्खरै मात्र अष्ट्रेलिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका युवा मिडफिल्डर कमल थापा मगरले अष्ट्रेलिया मै नयाँ क्लब पाएका छन् । थापाले अष्ट्रेलियामा रहेका नेपाली समुदायद्वारा स्थापित ब्रिसबेन नेपालीज फुटबल क्लबबाट खेल्ने पक्का भएको हो ।

ब्रिसबेनमा आवद्ध भएको कुरा क्लबले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । स्मरण रहोस, कमलले भर्खरै सम्पन्न कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबका लागि खेलेका थिए । यद्यपि उनले लिग सम्पन्न हुनु अगावै अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

गत मार्चमा नेपाल मै सम्पन्न प्रधानमन्त्री थ्री नेशन्स कपमा नेपाली टोलीको प्रतिनिधित्व गर्दै थापाले उपाधि समेत जितेका थिए । सो प्रतियोगितामा नेपालसँगै लाओस र भुटानले सहभागिता जनाएका थिए । नेपालले फाइनलमा लाओसलाई हराउँदै उपाधि जितेको थियो ।

खेलाडीका रुपमा राम्रो सम्भावना भए तापनि नेपाली फुटबलको भविष्य थप अनिश्चित बन्दै जाँदा अन्य खेलाडीहरु सरह थापाले पनि विदेशलाई आफ्नो गन्तव्य बनाएका थिए । हालसम्मको तथ्यांक हेर्दा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाईसकेका छन् ।

Post Comments