News साफ च्याम्पियनसिपमा नेपालको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा गत संस्करणको उपविजेता समेत रहेको नेपालले खराब शुरुवात गरेको छ । बैंगलोर स्थित श्री कान्तिरवा स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले पहिलोपटक सहभागिता जनाईरहेको बलियो कुवेतसँग १–३ को हार बेहोर्यो ।

खेलको २३औं मिनटमा कप्तान खालेद हजियाको गोलबाट कुवेतले खेलमा अग्रता बनाएको थियो । कर्नर किकमा बक्सभित्र अनमार्क रहेका खालेदले सटिक हेड गोलबाट कुवेतलाई शुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनटमा शबैब अलखादीले कुवेतको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म नेपाल ०–२ ले पछाडी पर्न पुगेको थियो ।

दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन गर्यो । ५७औं मिनटमा सनिस श्रेष्ठको सुन्दर हेडर प्रयास विपक्षी गोपोष्टको नजिकैबाट बाहिरिंदा नेपाली टोली चुकचुकाउनु परेको थियो ।

त्यसको केही मिनट लगतै कुवेतले पेनाल्टीको अवसर पायो । अनन्त तामाङले विपक्षीको बल रोक्ने प्रयासमा बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६५औं मिनटमा अब्दुलाले सहजै गोलमा परिणत गर्दै खेललाई ३–० को स्थितिमा ल्याए ।

तेस्रो गोल खाएको केही मिनट लगतै नेपालले गोल फर्काउन सफल भयो । अन्जन बिष्टले नेपालका लागि एक गोल गरे । विपक्षी डिफेन्डर र गोलरक्षकलाई चक्मा दिंदै अन्जनले नेपालका लागि एक मात्र सटिक गोल गरे । तर टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्तर्राष्ट्रिय फुटबलमा अन्जनको यो १२औं गोल समेत थियो ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आयोजक तथा साविक विजेता भारतसँगै शनिबार खेल्नेछ । स्मरण रहोस, भारतले आज नै बेलुका हुने दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।

 

Post Comments