News क्षेत्रीको ह्याट्रिकमा भारतको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । स्टार कप्तान तथा फरवार्ड सुनिल क्षेत्रीले ह्याट्रिक गरेपछि बुधबारदेखि शुरु १४औं साफ च्याम्पियनसिपमा आयोजक तथा साविक विजेता भारतले शानदार जितका साथ उत्कृष्ट शुरुवात गरेको छ ।

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा भएको समूह ए तर्फको दोस्रो खेलमा भारतले परस्पर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

भारतका लागि खेलको १०औं मिनट मै सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसपछि १६ र ७४औं मिनटमा पेनाल्टीबाट लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै थप एक गोल भने ८१औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उदन्ट कुमामले गरेका थिए ।

त्यसअघि खेलको पहिलो हाफ केहीबेर तनावपूर्ण पनि बन्यो । भारतका प्रशिक्षक इगोर स्टिम्याकले टच लाईनमा बसेर पाकिस्तानी खेलाडीको बल खोसेर खेल प्रभावित पार्न खोजेपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

त्यसपछि खेलमा निर्णायकको भूमिका निभाईरहेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले स्टिम्याकलाई रातो कार्ड देखाएका थिए । योसँगै स्टिम्याकले शनिबार हुने नेपाल विरुद्धको खेलमा टच लाईन बस्न नपाउने पनि पक्का भएको छ ।

शनिबार भारतले नेपालको सामना गर्दा सोही दिन पाकिस्तानले बलियो कुवेतसँग खेल्नेछ । स्मरण रहोस, बुधबार नै भएको उद्घाटन खेलमा कुवेतले नेपालमाथि ३–१ को जित निकालेको थियो ।

 

Post Comments