News माल्दिभ्सको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । भारतमा जारी प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा दुईपल्टको विजेता माल्दिभ्सले पनि विजयी शुरुवात गरेको छ । समूह बी मा रहेको माल्दिभ्सले बिहीबार आफ्नो पहिलो खेलमा जुझारु भुटानमाथि २–० को जित निकालेको हो ।

माल्दिभ्सले खेलको शुरुवात मै अग्रता बनाएको थियो । भुटानी खेलाडीले माल्दिम्सका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले माल्दिभ्सलाई पेनाल्टीको अवसर दिएको थियो । जसलाई छैठौं मिनटमा हम्जा मोहमदले सहजै गोलमा परिणत गरेका थिए ।

खेलमा गोल खाए पनि माल्दिभ्स विरुद्ध निरन्तर दबाब कायम राखेको भुटानले गोलका केही अवसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनु पर्यो । त्यस्तै खेलको ९०औं मिनटमा नैज हसनले माल्दिभ्सका लागि दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

भुटानले अब आफ्नो आगामी खेल आइतबार बलियो लेबनानसँग खेल्नेछ भने सोही दिन माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments