News मुख्यमन्त्री कपको फाइनलमा इलाम र संखुवासभा भिड्ने
गोलनेपाल

सिद्धिचरण । कोशी प्रदेश मुख्यमन्त्री कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा इलाम र संखुवासभा उपाधिका लागि भिड्ने भएका छन् । शुक्रबार भएको दुई सेमिफाइनलमा आ–आफ्नो खेलमा जित हात पार्दै इलाम र संखुवासभाले उपाधि भिडन्त पक्का गरेका हुन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका स्थित सगरमाथा जनता माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा इलामले घरेलु टोली ओखलढुंगालाई शून्यका विरुद्ध १ गोलले हरायो ।

इलामको जितमा खेलको अन्तिमतिर बिशाल तामाङले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता तामाङ नै म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ४ हजार र ट्रफी हात पारे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा संखुवासभाले खोटाङमाथि समान १–० को जित निकाल्यो । संखुवासभाका लागि दोस्रो हाफको २५औं मिनटमा मन्दिप राईले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो । मन्दिप नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे ।

फाइनल खेल असार ९ गते शनिबारका दिन इलाम र संखुवासभाबीच हुनेछ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगर, मोरङको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, ओखलढुंगाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

Post Comments