News पूर्व खेलाडीद्वय सागर र केन्द्रको अगुवाईमा खेलाडीहरुको लागि अक्षयकोष स्थापना
गोलनेपाल

धरान । फुटबल मै सबथोक सुम्पिएर लागिपरेका फुटबल खेलाडीहरुका लागि धरानका दुई पूर्व खेलाडीद्वय सागर घिमिरे र केन्द्र लिम्बुको अगुवाईमा अक्षयकोष स्थापना गरिएको छ । कुनैबेला राष्ट्रिय फुटबल प्रतियोगितामा पनि आफ्नो फरक पहिचान बनाएका सागर हाल धरान एफसीको प्रशिक्षकीय जिम्मेवारी समेत सम्हालीरहेका छन् । उता धरान कै पूर्व खेलाडी समेत हुन केन्द्र ।

अक्षयकोष स्थापनाबारे जानकारी गराउन आयोजित एक कार्यक्रमका बीच बोल्दै यो अभियानका मुख्य अभियन्ता सागर घिमिरेले फुटबल खेलाडीहरुलाई खेल कै क्रममा केही दुर्घट्ना भए वा अन्य कुनै समस्या आइ परे कहि कतैबाट उचित सहयोग नपाउँदा खेलाडीहरु निरुत्साहित र निराश हुनु परेको स्मरण गरे । कुनैबेला आफूले पनि यस्ता नमिठा क्षणहरु भोगेको बताउँदै वर्तमान र भावी पुस्ताका खेलाडीहरुले आफूले जस्तै त्यो समस्या भोग्न नपरोस भनेरै अक्षयकोष स्थापना गर्न अघि सरेको बताए ।

अक्षयकोषबाट अहिलेलाई धरान र कोशी प्रदेशमा आफ्नो कार्यक्षेत्र बनाएर फुटबलमा लागेका नयाँ पुराना खेलाडीहरुलाई आवश्यक परेको बेला सहयोग गरिने योजना रहेको केन्द्र लिम्बुले बताए । अहिले कोशी प्रदेशस्तरीय भए तापनि यो अक्षयकोषलाई आउने दिनहरुमा अन्य क्षेत्रका खेलाडीहरुका लागि पनि विस्तार गर्दै लैजाने लिम्बुले आफूहरुको योजना सुनाए ।

हालका लागि अक्षयकोषमा सागर घिमिरेले ५० हजार र केन्द्र लिम्बुले १ लाख जम्मा गरेका छन् । सोही अवसरमा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले क्लबको तर्फबाट अक्षयकोषलाई १ लाख दिने घोषणा गरेका छन् । अध्यक्ष राईले अक्षयकोष स्थापनाले भवितव्यमा पर्ने धेरै खेलाडीहरु लाभान्वीत हुने बताउँदै यो अभियानको शुरुवात गर्ने पूर्व खेलाडीद्वय सागर र केन्द्रलाई धन्यवाद र शुभकामना पनि दिए ।

सोही कार्यक्रममा उपस्थित प्रकाश बुढाथोकी, सुरज विश्वकर्मा लगायतका अन्य खेलाडीहरुले अक्षयकोषको स्थापनाले आफ्रजस्ता धेरै खेलाडीहरुलाई केही हदसम्म राहत मिल्ने बताए । फुटबल खेलाडीलाई चोट र समसयाले निरन्तर सताईरहने बताउँदै अक्षयकोषले खेलाडीहरु कै हितमा केही हदसम्म सकरात्मक काम गर्दा त्यसले सबै खेलाडीहरुलाई हौसला मिल्ने पनि बताए ।

Post Comments