
इटहरी । जहदा फुटबल क्लब र लर्ड बुद्ध स्कुल जारी यु–१३ जुनियर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा जहदाले डिएफसीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो ।
त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जहदाका कृष्ण खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ सय र ट्रफी हात पारे ।
त्यस्तै मंगलबार नै भएको दोस्रो सेमिफाइनलमा लर्ड बुद्धले आयोजक जुट बिकास फुटबल एकेडेमीलाई ३–१ ले हरायो । लर्ड बुद्धको जितमा हिकमत कार्मीले दुई गोल गरे भने प्रमेश मगरले थप एक गोल गरे । उता पराजित जुट बिकासका लागि नामु हाङ राईले एक मात्र गोल फर्काएका थिए ।
खेलमा लर्ड बुद्धका लागि दुई गोल गरेका हिकमत कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ सय र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत असार २७ गते बुधबार हुने फाइनलमा लर्ड बुद्ध स्कुल र जहदा फुटबल क्लब उपाधिका लागि भिड्ने छन् ।