News नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको साथ
गोलनेपाल

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई विश्व प्रख्यात कम्पनी युनिलिभरले प्रायोजन गरेको छ । मंगलबार सोल्टी होटलमा आयोजित एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच सम्झौता सम्पन्न भयो ।

सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष पंक्रज विक्रम नेम्वाङ र युनिलिभरका तर्फबाट नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हस्ताक्षर र आदानप्रदान गरे । सम्झौता एक वर्षका लागि रहेको एन्फाले जनाएको छ । साथै सम्झौता वापत युनिलिभरले एन्फालाई २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सो अवसरमा नेपाली टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बा र एन्फा अध्यक्ष नेम्वाङले युनिलिभरलाई धन्यवाद दिए । नेपाली फुटबलमा युनिलिभरको यो साथले सबै खेलाडीहरुलाई थप हौसला मिल्ने उनीहरुको बुझाई र प्रतिक्रिया थियो ।

उता सम्झौतापछि युनिलिभरका प्रबन्ध दिर्नेशक मुखर्जी पनि उत्साहित देखिए । मुखर्जीले व्यवसायसँगै अन्तर्राष्ट्रियस्तर मै खेलकुदसँग जोडिन पाउँदा आफूहरु पनि खुशी र उत्साहित रहेको बताए । युनिलिभरको यो साथले नेपाली फुटबलले आउने दिनमा अझै फड्को मार्ने विश्वास आफूले लिएको मुखर्जीले बताए ।

अनेक चर्चित ब्राण्डहरुको बहुदेशीय कम्पनी युनिलिभरको मुख्यालय लण्डनमा रहेको छ । सो अवसरमा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु र एन्फाका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, नेपाली महिला फुटबल टोलीले केही दिन अघि मात्र बंगलादेशमा भएको दुई म्याचको अन्तर्राष्ट्रिय फुटबल सिरिज जितेर स्वदेश फर्किएको थियो । सिरिज अन्तरगत नेपालले पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा घरेलु टोलीलाई टाईब्रेकरमा ४–२ ले हराएको थियो ।

नेपालले यसै वर्ष चीनको ग्वाङ्झुमा हुने प्रतिष्ठित एसियन गेम्सतर्फ महिला फुटबलमा पनि सहभागिता जनाउँदैछ ।

Post Comments