News दोस्रो चपरहट्टी कप शुरु, आहना र राना ब्रदर्शको विजयी शुरुवात
सुरज राना मगर

तिलोत्तमा । चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा शुक्रबारदेखि दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । सिद्धार्थ खेलमैदानमा भएको पहिलो दिनको खेलमा आहना युनाइटेड र राना ब्रदर्शले विजयी शुरुवात गरेका छन् ।

विजयी शुरुवात गर्ने क्रममा आहनाले सेभेन स्टार क्लबलाई २–१ ले हरायो । आहनाको जितमा दुवै गोल सुसन थापाले गरे । उता पराजित सेभेन स्टारका लागि प्रिन्स गहतराजले गोल फर्काएका थिए । खेलमा आहनाका लागि दुई गोल गरेका सुसन थापा म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा राना ब्रदर्शले डिएमसीलाई शून्यका विरुद्ध ३ गोलले हरायो । राना ब्रदर्शका लागि जमिर मियाँ, इमान राई र अशोक सुनारले गोल गरे । खेलमा राना ब्रदर्श कै जमिर मियाँ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत साउन ६ गते शनिबार तीन खेलहरु हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन जेष्ठ नागरिक तथा समाजसेवी सर्बजित थापा, आयोजक क्लबका अध्यक्ष हिमाल थापा लगायतले संयुक्त रुपमा गरेका थिए । सबै स्थानीय खेलाडीहरुलाई फुटबलमा पहुँचसँगै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगितालाई यसवर्ष पनि निरन्तरता दिइएको आयोजक क्लबका अध्यक्ष हिमाल थापाले बताए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल ४० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments