News महिला विश्वकपमा स्पेनको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डको संयुक्त आयोजनामा जारी फिफा महिला विश्वकपतर्फ दावेदार मध्ये एक स्पेनले उत्कृष्ट शुरुवात गरेको छ । समूह सी मा रहेको स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

समूह चरणको दोस्रो खेलमा स्पेनले २६ जुलाईका दिन अफ्रिकी टोली जाम्बियासँग खेल्नेछ भने सोही दिन कोस्टारिकाले अर्को दावेदार टोली, पूर्व विजेता तथा एसियन पावरहाउस जापानको सामना गर्नेछ ।

त्यस्तै शुक्रबार नै भएको समूह ए तर्फको एक मात्र खेलमा स्वीजरल्याण्डले पहिलोपटक सहभागिता जनाईरहेको एसियाली राष्ट्र फिलिपिन्सलाई २–० ले हरायो । फिलिपिन्सले आफ्नो आगामी खेल २५ जुलाईका दिन आयोजक न्युजिल्याण्डसँग खेल्नेछ भने स्वीजरल्याण्डले सोही दिन नर्वेको सामना गर्नेछ । स्मरण रहोस, प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डले नर्वेलाई १–० ले हराएको थियो ।

त्यसैगरी शुक्रबार नै भएको समूह बी तर्फको एक मात्र खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा क्यानडाले पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बन्यो । दोस्रो हाफतर्फ ५०औं मिनटमा क्यानडाकी क्रिष्टिन सिन्क्लेयरको पेनाल्टी प्रहार नाइजेरियाकी गोलरक्षक चियामाका नाडोजीले जोगाएकी थिईन् ।

सोही खेलमा प्रतियोगिताको पहिलो रातो कार्ढ पनि देखाइयो । खेलको अन्तिमतिर रेफ्री लिना लेहतोवाराले नाइजेरियाकी १९ वर्षिय मिडफिल्डर डेबोराह अबियोडुनलाई रातो कार्ड देखाएकी थिईन् । अन्तिमतिर नाइजेरिया दश खेलाडीमा सिमित बने पनि खेलको नतिजामा भने त्यसले कुनै अवसर गरेन ।

समूह चरणतर्फको दोस्रो खेलमा २६ जुलाईका दिन क्यानडाले आयरल्याण्डसँग खेल्नेछ भने त्यसको भोलीपल्ट नाइजेरियाले आयोजक अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलियाले आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई १–० ले हराएको थियो ।

Post Comments