
काठमाडौं । आउँदो अगस्त ३ तारीखदेखि भारतमा शुरु हुन गईरहेको प्रतिष्ठित १३२औं डुरान्ड कपमा नेपालबाट सहभागिता जनाउन लागेको त्रिभुवन आर्मी फुटबल क्लबले आफ्नो पहिलो खेल आई लिग क्लब दिल्ली एफसीसँग खेल्ने भएको छ ।
आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ई मा रहेको आर्मीले अगस्त ९ तारीखका दिन पहिलो खेल दिल्लीसँग खेल्ने भएको हो । जुन आसामको कोक्राझारमा हुनेछ । त्यस्तै दोस्रो खेल १४ अगस्तका दिन इण्डियन सुपर लिग क्लब चेन्नईन एफसीसँग गुवाहाटीमा खेल्नेछ ।
त्यस्तै समूह चरणको अन्तिम खेलमा आर्मीले २२ अगस्तका दिन अर्को इण्डियन सुपर लिग क्लब हेदराबाद सिटी एफसीसँग गुवाहाटी मै खेल्ने कार्यक्रम छ ।
प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन । बैंगलुरु एफसी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।