News सिद्धार्थ र लुम्बिनी तिलोत्तमा सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । सिद्धार्थ क्लब र लुम्बिनी तिलोत्तमा एफसी यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको दिनको पहिलो खेल र तेस्रो क्वाटरफाइनलतर्फ सिद्धार्थले आहना एफसीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ सिद्धार्थका लागि रबिन थापाले गोल गरेका थिए भने आहनाका लागि मिलन आलेले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने सिद्धार्थ विजयी बन्यो । खेलमा सिद्धार्थका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको दोस्रो तथा चौथो क्वाटरफाइनलमा लुम्बिनी तिलोत्तमाले एनबिए क्लबमाथि शून्यका विरुद्ध १ गोलको जित हात पार्यो । लुम्बिनी तिलोत्तका लागि आशिष ज्ञवालीले एक मात्र निर्णायक गोल गरे । खेलमा लुम्बिनी तिलोत्तमा कै दबिक थापा मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन १९ गते शुक्रबार पहिलो सेमिफाइनलमा सिद्धार्थ क्लब र देवदह ब्वाईज भिड्ने छन् भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा बेलबास एफसी र लुम्बिनी तिलोत्तमा आमने सामने हुने खेल संयोजक देव गुरुङले बताए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष हिमाल सारुले बताए । फाइनल खेल यही साउन २१ गतेका दिन हुनेछ ।

 

 

Post Comments