News सहज जितका साथ फ्रान्स क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिको बलियो प्रत्याशी मध्ये एक फ्रान्स पनि जारी फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा फ्रानसले पहिलो सहभागिता मै नकआउट चरणमा प्रवेश गरेर सनसनी मच्याएको कोरक्कोलाई ४–० ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

अष्ट्रेलियन शहर एडिलेडमा भएको खेलको १५औं मिनट मै काडिडिआटु डियानीको गोलबाट फ्रान्सले खेलमा अग्रता बनाएको थियो । त्यसको पाँच मिनट लगतै केन्जा डालीले त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै २३औं र ७०औं मिनटमा एनी ले सोमरले व्यक्तिगत दुई गोल थप्दै फ्रेन्च टोलीको जित पक्का गरिन् ।

मंगलबारको खेल समाप्तीसँग क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब ११ अगस्त शुक्रबारका दिन पहिलो क्वाटरफाइनलतर्फ स्पेनले नेदरल्याण्डसको सामना गर्नेछ भने सोही दिन दोस्रो क्वाटरफाइनलमा जापानले स्वीडेनसँग खेल्नेछ ।

त्यस्तै १२ अगस्त शनिबारका दिन हुने तेस्रो क्वाटरफाइनलतर्फ आयोजक अष्ट्रेलियाले फ्रान्सको सामना गर्दा अन्तिम क्वाटरफाइनलमा कोलम्बियाले इङल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments