News म्याङलुङ, नव जागृति र मुनाल जलजलेको जित
रमेश समदर्शी

तेह्रथुम । ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा तेह्रथुमको छथर गाउँपालिका शुक्रबारेमा आयोजित चोथो गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता आज पहिलो दिन तीन खेल सम्पन्न भएका छन् ।

प्रतियोगितको पहिलो खेलमा म्याङलुङले छथर गाउँपालिकालाई पेनाल्टीमा ७-६ गोलअन्तरले पराजित गर्यो । यस्तै, नव जागृति युवा क्लब धनकुटाले एफसी फाक्चामारालाई १-० गोल अन्तरले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेको फुटबल खेल संयोजक रुपम अधिकारीले जानकारी दिए ।

त्यस्तै लालीगुराँस नगरपालिका र मुनाल युवा क्लब जलजलेबीच भएको खेलमा मुनाल जलजले वाकओभर पाउँदै विजयी भएको छ । प्रतियोगिताका विजेता टिमले नगद १ लाख ५१ हजार, अध्यक्ष कप र उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनुपर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।

प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट गोलकिपर, गोलकर्ता, मिडफिल्डर र डिफेन्डरले जनही नगद २५ सय पाउने छन् । त्यस्तै क्वाटरफाइनलबाट बाहिरिने टिमलाई नगद १० हजार र सेमिफाइनलबाट बाहिरिने टिमलाई नगद २० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङका टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ १६ गते हुनेछ ।
 
Post Comments