News कठिन जितका साथ शेर्पा सेमिफाइनलमा
गोलनेपाल

धनगढी । कठिन जितका साथ हिमालयन शेर्पा क्लब जारी नेपाल आईस चौथो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा शेर्पाले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार जोगाएका थिए । थापाले त्यहि पेनाल्टी जोगाएपछि शेर्पा अन्तिम चारमा पुग्यो । गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरे । शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे । खेलको म्यान अफ द म्याच शेर्पाका गोलरक्षक टेकेन्द्र थापा भए । उनले पुरस्कार वापत नगद १० हजार सहित ट्रफी हात पारे ।

शुक्रवारको खेलसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पनि पुरा भएको छ । प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन् । प्रतियोगिता अन्तरगत फागुन १७ गते शनिबारको पहिलो सेमिफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र विभागीय टीम नेपाल एपिएफ क्लबबीच हुनेछ ।

यहि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख १ रुपैँया हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Post Comments