News सफल खेलाडी बन्न कडा मेहनत र निरन्तर अभ्यास जरुरीः प्रशिक्षक श्रेष्ठ
गोलनेपाल

रौतहट । अखिल नेपाल फुटबल संघ (एन्फा) का फुटबल प्रशिक्षक सुनिल श्रेष्ठले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ तुलसीलाल अमात्य खेलमैदानमा प्रशिक्षण लिइरहेका बालबालिकाहरूसँग अन्तरक्रिया गरेका छन् ।

प्रशिक्षक श्रेष्ठले खेलमैदानमा पुगेर एन्फाको ग्रासरूट कार्यक्रम अन्तर्गत प्रशिक्षण लिइरहेका बालबालिकाहरूसँग फुटबल सम्बन्धी विभिन्न पक्षहरूको बारेमा जानकारी दिएका थिए । अन्डर–१६ र अन्डर–१५ उमेर समुहका नेपाली राष्ट्रिय टिमका प्रशिक्षक समेत रहेका श्रेष्ठले कडा मेहनत र निरन्तर अभ्यासले मात्र सफल खेलाडी बन्न सक्ने भन्दै अभ्यास गर्न नछाड्न खेलाडीहरूलाई सुझाए ।

उनले सानै उमेरदेखि फुटबलको आधारभुत प्रशिक्षण लिन पाउँदा यसले निकै फाइदा हुने जिकिर गर्दै अवसरको सदुपयोग गर्न खेलाडीहरूलाई हौसाएका थिए । “आजका बालबालिका भोली राष्ट्रका सफल खेलाडी बनेर राष्ट्रको नाम उच्च गर्न सक्छन्”, श्रेष्ठले भने , “त्यसका लागि निरन्तर अभ्यास र खेलप्रति माया अनि विश्वास हुनुपर्छ ।”

यसमा राम्रो खेल कौशल देखाउन सक्ने खेलाडीले उमेर समुहको राष्ट्रिय टिममा पनि अवसर पाउन सक्ने बताउँदै खेलाडीहरूलाई मनैदेखि सक्छु भनेर प्रशिक्षण लिन समेत सुझाए । सो अवसरमा रौतहट जिल्लाका ग्रासरूट कोचहरू सोनम लामा, सुजन तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।

स्मरणीय छ, सो फुटबल मैदानमा हाल ८० जनाभन्दा बढि बालबालिकाले नियमित प्रशिक्षण लिने गरेको प्रशिक्षक तिमल्सिनाले जानकारी दिए ।

Post Comments