News एएफसी फुटसल एसियन कप थाइल्याण्डमा हुने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली फुटबल महासंघ (एएफसी) को बैठकले अर्को वर्ष हुने प्रतिष्ठित एएफसी फुटसल एसियन कपको १७औं संस्करण थाइल्याण्डमा आयोजना गर्ने निर्णय गरेको छ ।

यो सँगै थाइल्याण्डले प्रतियोगिताको सर्वाधिक तीनपटक आयोजना गर्ने उज्वेकिस्तानको किर्तिमान पनि बराबरी गरेको छ । स्मरण रहोस, थाइल्याण्डले यसअघि सन् २००० र २००८ मा पनि फुटसल एसियन कप आयोजना गरेको थियो । त्यतिबेला प्रतियोगिता एएफसी फुटसल च्याम्पियनसिपका रुपमा आयोजना हुँदै आएको थियो ।

प्रतियोगिता आयोजनाका लागि थाइल्याण्डसँगै इरान, मंगोलिया, इण्डोनेसिया र उज्वेकिस्तानले आ–आफ्नो प्रस्ताव पेश गरेका थिए । जसमा एएफसीको बैठकले थाइल्याण्डलाई आयोजक राष्ट्रका रुपमा छनौट गरेको हो । प्रतियोगिता अर्को वर्षको १७ देखि २८ अप्रिलसम्म हुने मिति तय भईसकेको छ ।

प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने छन् । थाइल्याण्ड भने आयोजक राष्ट्रको हैसियतले प्रतियोगितामा सोझै छनौट हुन पनि सफल भएको छ ।

प्रतियोगिताको छनौट खेलहरु यसै वर्षको अक्टुबर पहिलो सातादेखि शुरु हुँदैछ । जसमा नेपालले पनि सहभागिता जनाउँदैछ । छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेको नेपालले आयोजक मंगोलियासँगै बलियो भियतनाम र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments