News एएफसी यु–२३ एसियन कप खेल्ने १६ टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्को वर्ष कतारमा हुने एएफसी यु–२३ एसियन कपमा सहभागिता जनाउने कुल १६ टोलीहरुको टुंगो लागेको छ । यही सेप्टेम्बर ६ देखि १२ तारीखसम्म विभिन्न ११ आयोजक राष्ट्रहरुमा भएको छनौट प्रतियोगिताबाट कुल १६ टोलीहरु छनौट भएका हुन् ।

छनौट प्रतियोगितामा एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेका मध्ये ४३ सदस्य राष्ट्रहरुले सहभागिता जनाएका थिए । सहभागी टोलीहरुलाई ११ समूहमा विभाजन गरिएको थियो ।

जसमा प्रत्येक समूहको शिर्ष टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने चार टोलीहरु यु–२३ एसियन कपका लागि छनौट हुन सफल भए । कतारले भने आयोजकको हैसियतले सोझै छनौट हुने अवसर पाएको थियो ।

छनौट प्रतियोगिता अन्तरगत समूह ए बाट जोर्डन, बी बाट दक्षिण कोरिया, सी बाट भियतनाम, डी बाट जापान, ई बाट उज्वेकिस्तान, एफ बाट इराक र उत्कृष्ट दोस्रो स्थान हासिल गर्न सफल कुवेत, जी बाट समूह विजेता युएई र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोली चीन छनौट भएका छन् ।

त्यसैगरी समूह एच बाट थाइल्याण्ड समूह विजेता तथा मलेसिया उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा छनौट भएका छन् भने आइ बाट अष्ट्रेलिया समूह विजेता र ताजिकिस्तान उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका लागि छनौट हुन सफल भएका छन् ।

त्यस्तै समूह जे बाट साउदी अरेबिया तथा समूह के बाट इण्डोनेसिया यु–२३ एसियन कपमा स्थान बनाउन सफल भएका छन् । स्मरण रहोस, एएफसी यु–२३ एसियन कपको छैठौं संस्करण अर्को वर्ष अप्रिल १५ देखि ३ मईसम्म कतारका विभिन्न चार शहरहरुमा आयोजना हुने तय भईसकेको छ ।

छनौट प्रतियोगितामा दक्षिण एसियाबाट भारत, पाकिस्तान र बंगलादेशले सहभागिता जनाएका थिए । त्यस्तै माल्दिभ्सले सहभागिता जनाउने तय भए तापनि अन्तिम समयमा आएर माल्दिभ्सले नाम फिर्ता लिएको थियो । नेपाल र भुटानले भने सहभागिता जनाएको थिएनन् ।

Post Comments