News सनसनीपूर्ण जितका साथ पाल्पा सेमिफाइनलमा
सुरज राना मगर

कोटिहवा । सनसनीपूर्ण जित निकाल्दै पाल्पा–११ यहाँ जारी २१औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम प्रिक्वाटरफाइनलमा प्रतियोगिता कै दावेदार मध्ये एक मानिएको सन्जिवनी युवा क्लबलाई टाईब्रेकरमा हराउँदै पाल्पा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

पशुपति माविको खेलमैदानमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । टाईब्रेकरमा पाल्पाले सञ्जिवनीलाई ५–४ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गर्यो ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका पाल्पाका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत भदौ ३१ र १ गतेका दिन विश्राम दिइएको आयोजकले जनाएको छ ।

असोज २ गते हुने पहिलो सेमिफाइनलमा देवदह ब्वाईज र फर्साटिकर युवा क्लब भिड्ने छन् भने असोज ३ गते हुने दोस्रो सेमिफाइनलमा पाल्पा–११ र कपिलवस्तु–११ भिड्ने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।

Post Comments