News नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित
गोलनेपाल

काठमाडौं । बिहीबारदेखि शुरु साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणको आयोजक समेत रहेको नेपालले आफ्नो पहिलो खेलमै हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको समूह ए तर्फको पहिलो खेलमा नेपालले पाकिस्तानसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो । नेपाल विरुद्ध शुरुवातबाटै प्रभावशाली प्रदर्शन गरेर निरन्तर पोष्ट चार्ज गरेको पाकिस्तानले पहिलो हाफ भने गोलरहित बराबरी खेल्यो ।

पाकिस्तानी खेलाडीका केही डरलाग्दा प्रहारहरुलाई नेपालका कप्तान तथा गोलरक्षक जियारथ शेखले उत्कृष्ट बचाउ गरेका थिए । यद्यपि खेलको ७७औं मिनटमा अली जफरले पाकिस्तानी टोलीका लागि एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

यो हारले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना केही कठिन बनेको छ । नेपालले आफ्नो दोस्रो तथा निर्णायक खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । उता जितसँगै अन्तिम चारको सम्भावना बलियो बनाएको पाकिस्तानले शनिबार माल्दिभ्स कै सामना गर्नेछ ।

समूह बी तर्फ बिहीबार नै भएको उद्घाटन खेलमा साविक विजेता भारतले बंगलादेशमाथि ३–० को प्रभावशाली जित निकाल्यो । समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments