News संघर्षपुर्ण जितका साथ मच्छिन्द्र सेमिफाइनलमा
गोलनेपाल

इलाम । संघर्षपुर्ण जितका साथ लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब जारी छैटौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार टुंडिखेल मैदानमा भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई टाइब्रेकरमा ५–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यसपछि थपिएको अतिरिक्त २० मिनटको खेलमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट निकालिएको थियो । खेलमा मच्छिन्द्रका रजिन धिमाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन २० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक माइभ्याली एफसी र मोहम्मदन स्र्पोटिङ क्लब, भारतबीच हुने आयोजकले जनाएको छ ।

माइभ्याली एफसी, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन २४ गतेका दिन हुनेछ ।

Post Comments