News धनगढी एफसीको मार्की खेलाडीमा आशिष चौधरी
गोलनेपाल

साविक उपविजेता धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीसँग सम्झौता गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो । धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीको रुपमा अनुबन्ध गरेको हो। नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका खेलाडी २३ वर्षीय आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट खेल्ने गर्छन ।

उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए । सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन् ।

बंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानबिरुद्ध नेपालले १-० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए। मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले खुशी व्यक्त गरेका छन् ।

'पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियो। यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौं । अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरुलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौं ।आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,' आशिषले भने ।

यस्तै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको प्रतिक्रिया दिए । 'नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको उर्जा झनै बढेको महसुस भएको छ ।धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं । यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं,' शाहीले भने ।

Post Comments