News सिद्धार्थलाई प्याब्सन–एन्फा सुनसरी प्रेसिडेन्ट लिग कपको उपाधि
गोलनेपाल

धरान । प्याब्स्न–एन्फा सुनसरी प्रेसिडेन्ट कप अन्तरविद्यालय छात्र लिग फुटबल प्रतियोगिताको उपाधि सिद्धार्थ इङलिस स्कुल, बराहक्षेत्रले जितेको छ ।

धरान रंगशालामा राउण्ड रोबिन लिगका आधारमा सम्पन्न भएको प्रतियोगिताको शिर्ष स्थानमा रहेर सिद्धार्थ च्याम्पियन बनेको हो । विजेता बनेको सिद्धार्थले उपाधिसहित २० हजार हात पार्यो ।

त्यस्तै महेन्द्र मेमोरियल स्कुल, दुहबीले दोस्रो स्थान हासिल गर्यो । र, नगद १५ हजारसहित ट्रफी हात पार्यो । तेस्रो बनेको हिमशिखर बोर्डिङ स्कुल, इटहरीले नगद १० हजार र ट्रफी हात पार्दा होलिल्याण्ड इन्टरनेशन स्कुल चौथो बन्यो र नगद ७ हजार हात पार्यो ।

विधागततर्फ सिद्धार्थका सन्देश चौधरी उत्कृष्ट गोलरक्षक बन्दा हिमशिखरका नेल्सन गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल चुनिदा उत्कृष्ट फरवार्ड सिद्धार्थका सुशान्त चौधरी घोषित भए ।

उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि सिद्धार्थ कै अजित अधिकारी हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी प्राप्त गरे ।

त्यसैगरी सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिताभरि कुल तीन गोल गरेका महेन्द्र मेमोरियलका आशिष भगतले हात पारे । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सिद्धार्थका सरुन चौधरी चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई लगायतले पुरस्कृत गरेका थिए । एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा भएको प्रतियोगितामा छनौट चरण पार गरी आएका टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा खेलेका थिए ।

Post Comments