News झापा एफ.सी.को मुख्य प्रशिक्षकमा स्पेनिस ओरिओल मोहेडानो सेगुरा
गोलनेपाल
नेपालको पहिलो प्राइभेट क्लब झापा एफ.सी. ले आगामी नेपाल सुपर लिगका लागि मुख्य कोचको रूपमा स्पेनिस कोच ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरेको छ।

झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट उक्त जानकारी दिएको हो । युईएफए ए लाइसेन्स प्राप्त ओरिओलले यसअघि स्पेन, स्विट्जरल्याण्ड, फिनल्याण्ड, नर्वे र कम्बोडियामा काम गरिसकेका छन् । उनको नियुक्तिले क्लब तथा समग्र नेपाली फुटबलमा योगदान पुग्ने विश्वास गरिएको छ ।

झापा एफ.सी. ओरिओलको आगमनलाई लिएर निकै उत्साहित र आशावादी रहेको क्लबका अध्यक्ष श्री अर्पण विक्रम खड्काले बताए ।

"झापा एफ.सी.मा कोच ओरिओल मोहेडानो सेगुरालाई स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं । उनको प्रशिक्षण अनुभवले हाम्रो टोलिलाई नेपाल सुपर लिग दिलाउनेमा ढुक्क छौं । हामी नेपाल सुपर लिगलाई लिएर उच्च आशाबादी रहेका छौं र यो सिजन नेपाली फुटबललाई थप व्यवसायी र राम्रो बनाउन हामी प्रयासरत छौं।"

क्लबको महासचिव र क्लब प्रवक्ता श्री सुजन गौतम पनि ओरिओलको आगमनमा उत्साहित छन्।

"कोच ओरिओलको आगमन झापा एफ.सी. को नेपाली फुटबलमा स्तर बढाउने समर्पणको प्रमाण हो। फुटबल क्षेत्रमा उनको विशेषज्ञताले हाम्रो प्रदर्शनमा सुधार मात्र नगरी नेपालको फुटबलको विकासमा पनि योगदान पुग्नेछ।", प्रवक्ता श्री सुजन गौतमले बताए ।

प्रशिक्षक ओरिओल मोहेडानो सेगुराले नयाँ चुनौतीलाई तयार रहेको बताए।

"म झापा एफ.सी.मा सामेल हुन पाउँदा निकै खुशी र उत्साहित छु। झापा एफ.सी.ले नेपालको फुटबलको स्तर बढाउन राम्रो प्रयास गरिरहेको छ र नेपाल जस्तो सुन्दर देशमा फुटबलको विकासमा योगदान गर्न पाउँदा आफूले अवसर र चुनौती दुवैको रूपमा लिएको छु। मेरो लक्ष्य एक प्रतिस्पर्धी र सफल टोली सिर्जना गर्ने, नेपाली फुटबलमा स्पेनिस शैली प्रयोग गरी फ्यानहरूलाई गर्वित बनाउने रहेको छ।

मोहेडानो सेगुराले कम्बोडियाका प्रिमियरक्लब हरुमा प्रमुख कोच र फिनल्यान्ड, नर्वे लगायत क्लबमा सहायक कोचको रुपमा काम गरेका छन्।

एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ । झापा एफ.सी.ले मंसिर ११ गते स्पोर्रटिङ डी ईलामसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

Post Comments