News नेपाल सुपर लिग २०२३ : झापा एफसीको ब्रान्ड एम्बेसडरमा हरि खड्का नियुक्त
गोलनेपाल

झापा एफसीले नेपाल सुपर लिग २०२३ को ब्रान्ड एम्बेसडरमा हरि खड्कालाई नियुक्त गरेको छ ।

नेपालका किर्तिमानी फरवार्ड हरि खड्कालाई नेपाल सुपर लिग टोली झापा एफ.सी.ले आफ्नो ब्रान्ड एम्बेसेडरको रूपमा घोषणा गरेको हो।

नेपाली फुटबलका चर्चित व्यक्तित्व हरि खड्काले राष्ट्रिय टोलीका लागि सबैभन्दा बढी १३ गोल गर्ने खेलाडीको इतिहास बनाएका छन् ।

"हरि खड्का जस्तो फुटबलका हस्तीलाई हाम्रो ब्रान्ड एम्बेसेडरको रूपमा पाउनु झापा एफ.सी.को लागि गौरवको कुरा रहेको छ। नेपाली फुटबलमा उनको अतुलनीय योगदान र झापा जिल्लासँगको उनको सम्बन्धले यो साझेदारीलाई साँच्चै विशेष बनाएको छ ।" झापा एफ.सी.का अध्यक्ष अर्पण विक्रम खड्काले भने।

मैदानमा आफ्नो उत्कृष्ट खेल र कलाकौशलका लागि परिचित हरि खड्काले पनि यो नयाँ भूमिकाको बारेमा आफ्नो उत्साह व्यक्त गरे।

"झापा एफ.सी. नेपाली फुटबललाई केही परिवर्तन गर्ने अठोटका साथ आएको छ र मेरै जिल्लाको क्लबलाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा हो। फुटबलको विकासमा योगदान दिन र झापा एफ.सी.लाई नेपाल सुपर लिगमा समर्थन गरी आफ्नो तर्फबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्न तत्पर छु।" हरि खड्काले भने।

झापा एफ.सी महासचिव सुजन गौतमले उत्साहित हुँदै आफ्नो भनाई राख्दै भने, "झापा एफ.सी.मा हरि सरको संलग्नता हाम्रो क्लब र हाम्रा खेलाडीहरूको लागि महत्त्वपूर्ण हुनेछ। उहाँको अनुभव र खेलप्रतिको लगावले पक्कै पनि हाम्रो टोलीलाई आगामी नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्नेछ।"

नेपाली फुटबलका हस्ती हरि खड्काको ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्तिले झापा एफ.सी. मात्र नभई समग्र एनएसएलको लागि एक महत्वपूर्ण कदमको सङ्केत गर्दछ, उत्कृष्टताप्रतिको झापा एफ.सी.को प्रतिबद्धता र उनीहरूको फुटबल प्रतिको दृष्टिकोणलाई हरि खड्काको नियुक्तीले सकारात्मक सन्देश दिन्छ। नेपाल सुपर लिग २०२३ नजिकिँदै गर्दा झापाली फ्यानहरूमा हरि खड्का र झापा एफ.सी.बीचको सहकार्यले निकै राम्रो प्रभाव पार्ने निश्चित छ।

Post Comments