
काठमाडौं । एएफसी फुटसल एसियन कप छनौटको समूह चरणबाट यसअघि नै बाहिरिसकेको नेपालले बुधबार समूह चरणको अन्तिम तथा प्रतिष्ठाको भिडन्तमा आयोजक मंगोलियासँग १–१ को बराबरी खेल्दै छनौट प्रतियोगिताको समापन गरेको छ ।
नेपालका लागि सुमित श्रेष्ठले गोल गरे । स्मरणीय छ, नेपालले समूह चरणतर्फ दक्षिण कोरियासँग ५–१ ले हार्दा पनि नेपालका लागि सुमित श्रेष्ठले नै गोल गरेका थिए । छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेका नेपाल र मंगोलिया दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
बुधबार नै भएको समूह डी तर्फको अर्को खेलमा भियतनामले दक्षिण कोरियालाई ५–२ ले हरायो र तीन खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोड्दै समूह विजेता बन्यो । दक्षिण कोरिया ६ अंकसहित दोस्रो स्थानमा रहेर समूह उपविजेता बन्दै भियतनामसँगै फाइनल चरणका लागि छनौट भयो ।
त्यस्तै तीन खेलबाट समान १–१ अंक जोडेका नेपाल र मंगोलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बने ।
Pic: Mongolia FA