News फुटसल एसियन कप खेल्ने १६ टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी फुटसल एसियन कपको १७औं संस्करणमा सहभागिता जनाउने १६ टोलीहरुको टुंगो लागेको छ । यसै महिना विभिन्न देशहरुमा सम्पन्न भएको छनौट खेलहरुबाट फाइनल चरणमा प्रतिस्पर्धा गर्ने १६ टोलीहरुको टुंगो लागेको हो ।

एएफसी फुटसल एसियन कप २०२४ का लागि आयोजकको हैसियतले थाइल्याण्डले सोझै छनौट हुने अवसर पाएको छ । त्यस्तै समूह ए बाट चीन छनौट भएको छ भने समूह बी बाट अफगानिस्तान र साउदी अरेबिया छनौट भएका छन् ।

समूह सी बाट गत संस्करणको उपविजेता इरान र किर्गिस्तान छनौट भएका छन् भने नेपालले छनौट खेल खेलेको समूह डी बाट भियतनाम र दक्षिण कोरिया छनौट भएका छन् । समूह ई बाट ताजिकिस्तान र म्यानमारले स्थान सुरक्षित गरेका छन् ।

समूह एफबाट कुवेत र बहराईन छनौट हुँदा समूह जी बाट उज्वेकिस्तान र इराक छनौट भएका छन् । त्यसैगरी समूह एचबाट साविक विजेता जापानसँगै अष्ट्रेलिया छनौट भएका छन् ।

स्मरण रहोस, सन् २०२४ को अप्रिल १७ देखि २८ तारीखसम्म थाइल्याण्डमा एएफसी फुटसल एसियन कपको १७औं संस्करण हुने कार्यक्रम छ । फुटसल एसियन कपबाट शिर्ष चार टोलीहरु सोही वर्ष हुने फटस विश्वकपका लागि छनौट हुने छन् ।

यद्यपि यसपटक एसियाबाट फुटसल विश्वकपमा पाँच टोलीहरुले सहभागिता जनाउने छन् । आयोजक उज्वेकिस्तान विश्वकपका लागि सोझै छनौट भएपछि विश्वकपमा पाँच एसियाली टोलीहरुको सहभागिता पक्का भएको हो ।

Post Comments