News प्रथम बिरगंज गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बिरगंज । भेट्रान्स सिटी क्लब, बिरगंजको आयोजनामा यही कार्तिक १८ गतेदेखि शुरु हुन गईरहेको प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिरगंज स्थित आदर्शनगर रंगशालामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १८ गतेका दिन आयोजक भेट्रान्स सिटी क्लब, बिरगंज र एफसीआई नर्थ जोन फुटबल टिम, नोयडा, भारतबीच हुने खेलतालिकामा उल्लेख छ ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरु सहभागि छन् । जसमा लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसहित, नेपाल सुपर लिग क्लब झापा एफसी, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब जस्ता चर्चित क्लबहरुको पनि सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल भने कार्तिक २५ गतेका दिन हुनेछ । साथै फाइनल अघि कार्तिक २४ गतेका दिन नेपाल र भारतको महिला फुटबल टोलीबीच पनि मैत्रीपूर्ण फुटबल म्याच हुने आयोजकले जानकारी दियो ।

बिरगंज महानगरपालिकाको पनि विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments