News दोस्रो भरतपुर गोल्डकप पनि स्थगित (विज्ञप्तीसहित)
गोलनेपाल

भरतपुर । यहि चैत्र पहिलो सातादेखि हुने भनिएको वाई–वाई दोस्रो भरतपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता पनि तत्कालका लागि स्थगित गरिएको छ ।

महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासका कारण प्रतियोगिता स्थगित गरिएको प्रतियोगिता संयोजक आलोक प्रताप राणाले बताए । नारायणगढ स्थित क्याम्पाचौरमा यहि चैत्र ६ गतेदेखि हुने भनिएको प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको राणाले जानकारी दिए ।

उनका अनुसार प्रशासन र राखेपले पनि तत्कालका लागि खेलकुद गतिविधीहरु नगर्न अपिल गरेकाले प्रतियोगिता स्थगन गर्नुपरेको बताए । साथै उनले प्रतियोगिताको नयाँ मितिबारे भने अनिश्चितता व्यक्त गरे । यद्यपि उनले प्रतियोगिता भने जसरी भए पनि हुने दावी गरे ।

राणा भन्छन्, "हामी प्रतियोगिता जति सक्दो छिटो गर्ने प्रयासमा छौं । अर्को सूचना आउना साथ हामी प्रतियोगिताका लागि तयार हुनेछौं । तर हामी अहिले नै मिति तोक्न भने सक्दैनौं ।" राणाले अगाडी भनेका छन्, "हामीले गोल्डकप सन् २०२० मै गर्ने घोषणा गरेका छौं । परिस्थिति हाम्रो अनुकुल भए चैत्र मै गर्ने सम्भावना पनि छ ।"

स्मरण रहोस, एजे इन्टरनेशनल प्रा.लि. र चितवन जिल्ला फुटबल संघको संयुक्त आयोजनामा हुने भनिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । गत संस्करण प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको थियो ।

Post Comments