News चक्रघट्टीलाई २२औं राजाबास च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

राजाबास । यहाँ सम्पन्न २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्रले जितेको छ । फाइनलमा तालतलैया फुटबल क्लब, इटहरीलाई टाईब्रेकरमा हराउँदै चक्रघट्टी च्याम्पियन बनेको हो ।

त्यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ चक्रघट्टीका लागि रोशन भुजेल र भुवन बस्नेतले गोल गरे भने तालतलैयाका लागि दुवै गोल पुजन चौधरीले गरेका थिए ।

टाईब्रेकरमा भने चक्रघट्टीले तालतलैयामाथि ४–२ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो । विजेता बनेको चक्रघट्टीले उपाधिसहित नगद ५१ हजार हात पार्दा उपविजेता तालतलैयाले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच चक्रघट्टीका पुजन चौधरी घोषित भए । उनले त्यसवापत नगद १५०० हात पारे । चक्रघट्टी कै असिफ राई उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट डिफेन्डर पनि चक्रघट्टी कै मनिष क्षेत्री बन्दा उत्कृष्ट मिडफिल्डर चक्रघट्टीका धिरेन लिम्बु घोषित भए ।

उत्कृष्ट फरवार्ड तालतलैयाका सिजल राई चुनिदा उत्कृष्ट प्रशिक्षक चक्रघट्टीका दिनेश राई घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५०० र ट्रफी हात पारे । उदीयमान खेलाडी आयोजक राजाबासका अभिषेक दर्नाल घोषित भए । त्यसवापत उनले नगद ३१०० र ट्रफी हात पारे ।

प्रतियोगिताभरि समान २–२ गोल गरेका चक्रघट्टीका भुवन बस्नेत, तालतलैयाका पुजन चौधरी र संकल्प क्लबका जोसन राईले संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । पुरस्कार रकम वापतको ३००० तीन खेलाडीले जनही १–१ हजारका दरले हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चक्रघट्टीका रोशन भुजेल घोषित भए । त्यसवापत उनले नगद ३१०० र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्य लगायतले पुरस्कृत गरे ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा कार्तिक १३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments