News पुलिसलाई प्रथम बिरगंज गोल्डकपको उपाधि
गोलनेपाल

बिरगंज । मधेश प्रदेश कै सर्वाधिक पुरस्कार राशी रहेको प्रथम बिरगंज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई टाईब्रेकरमा २–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि आदर्शनगर रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा पुलिसका गोलरक्षक शत्रुधन चौधरीले आर्मीका नवयुग श्रेष्ठ, बिमल पाण्डे, जितेन्द्र कार्की र सन्तोष केसीको चार प्रहार रोक्दै फाइनल खेलको नायक बने । उता पुलिसका उज्वल राईको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले जोगाए पनि बुद्ध तामाङ र राम वजीले पुलिसका लागि गोल गर्दै टोलीको जित पक्का गरे ।

विजेता बनेको पुलिसले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्यो भने आर्मीले ५,५५,५५५ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो । खेलमा नायकीय प्रदर्शन गरेका पुलिसका गोलरक्षक शत्रुधन चौधरी म्यान अफ द फाइनल म्याच चुनिए । उनले त्यसवापत नगद १० हजार र ट्रफी हात पारे ।

पुलिस कै प्रताप गुरुङ्ग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक पुलिस कै शत्रुधन चौधरी चुनिए । आर्मीका बिमल पाण्डे उत्कृष्ट डिफेन्डर बने ।

पुलिसका उज्वल राई उत्कृष्ट मिडफिल्डर बन्दा पुलिस कै चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २०–२० हजार र ट्रफी हात पारे ।

भेट्रान सिटी क्लब, बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको मुख्य प्रायोजनमा कार्तिक १८ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments