News फुङनाम स्पोर्टिङ क्लब चुलाचुलीलाई फाकफोकथुममा दीपावली कपको उपाधि
रमेश समदर्शी

फाकफोकथुम खेलकुद विकास समितिले आयोजना गरेको शुभ दीपावली कप फुटबल प्रतियोगिताको उपाधि चुलाचुलीको फुङनाम स्पोर्टिङ क्लब चुमेको छ ।

जनकल्याण माविको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा स्थानीय कोलबोटे एफसीलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै चुलाचुलीले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । सुरुवाती अग्रता कोलबोटेका रोशन आङ्देम्बेको गोलबाट भएको थियो । तर, गोलको खुसी साट्न नपाउँदै चुलाचुलीका राजेन्द्र मगरले बराबरी गोल गरे ।

फाइनल खेलको म्यान अफ दी म्याच चुलाचुलीका राजेन्द्र मगर घोषित भए । चुलाचुलीकै कप्तान दिवस श्रेष्ठ उत्कृष्ट खेलाडी बन्दा उत्कृष्ट गोलरक्षक रुविन राई घोषित भए ।

सर्वाधिक गोलकर्ता कोलबोटेका शुकराज राई भए । उनले ४ गोल गरेका थिए । उनीहरुले जनही २-२ हजार नगद पुरस्कार र ट्रफी पाए ।

विजेता चुलाचुलीले नगद १ लाख २५ हजार र ट्रफी पायो भने उपविजेता कोलबोटेले ६५ हजारमा चित्त बुझायो । आयोजक समितिका अध्यक्ष पदम लिम्बू, कार्यक्रम संयोजक युवराज लिम्बू, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपप्रमुख कल्पना राई, स्पोर्टिङ इलाम डी मेचीका अध्यक्ष सुहाङ नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

Post Comments