News आयोजक इण्डोनेसियाको लगातार दोस्रो बराबरी, उज्वेकिस्तान र स्पेनलाई सफलता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । घरमै जारी प्रतिष्ठित फिफा यु–१७ विश्वकप अन्तर्गत आयोजक इण्डोनेसियाले समूह चरणतर्फ सोमबार लगातार दोस्रो खेलमा बराबरी नतिजा निकालेको छ ।

समूह ए तर्फ आफ्नो पहिलो खेलमा इक्वेडरसँग १–१ को बराबरी खेलेको इण्डोनेसियाले सोमबार पनामासँग समान १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । सोही समूहमा रहेको इक्वेडरले भने पहिलो जित निकाल्ने क्रममा मोरक्कोलाई २–० ले हरायो ।

सोमबारको नतिजापछि समूह ए मा २ खेलबाट ४ अंक जोडेको इक्वेडर शिर्ष स्थानमा उक्लिदा ३ अंकका साथ मोरक्को दोस्रो स्थानमा छ । त्यस्तै २ अंक जोडेको इण्डोनेसिया तेस्रो स्थानमा रहँदा १ अंक जोडेको पनामा पुछारमा छ ।

समूह ए बाट दोस्रो चरणमा पुग्ने सम्भावना अझै चारै टोलीको कायम छ । समूह चरणको अन्तिम तथा निर्णायक खेलमा १६ नोभेम्बरका दिन मोरक्कोले इण्डोनेसियाको सामना गर्नेछ भने सोही दिन इक्वेडरले पनामासँग खेल्नेछ ।

स्पेनको लगातार दोस्रो जित

त्यस्तै सोमबार नै भएको समूह बी तर्फ दावेदार मध्ये एक स्पेनले लगातार दोस्रो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा क्यानडालाई २–० ले हराएको स्पेनले सोमबार मालीमाथि १–० को जित दर्ता गर्यो ।

समूह बी मै आफ्नो पहिलो खेलमा मालीसँग ३–० ले पराजित एसियाली राष्ट्र उज्वेकिस्तानले क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्यो । सोमबारको नतिजापछि दुई खेलबाट ६ अंक जोडेको स्पेन समूह बी को शिर्ष स्थानमा छ ।

माली र उज्वेकिस्तान समान ३–३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन क्यानडा पुछारमा छ । समूह चरणको अन्तिम खेलमा १६ नोभेम्बरका दिन उज्वेकिस्तानले स्पेनको सामना गर्दा सोही दिन क्यानडा र माली पनि भिड्ने छन् ।

Post Comments