News विश्वकप छनौटः युएईसँग निराश नेपाल
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पराजय बेहोरेको छ ।

छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले बिहीबार दुबई स्थित अल मक्तुम स्टेडियममा सम्पन्न आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा बलियो घरेलु टोली युएईसँग ४–० को हार बेहोरेको हो ।

युएईले पहिलो हाफ मै गरेको चार गोल खेलको निर्णायक नतिजा बन्यो । खेलको ११औं मिनटमा खलिफा मुबारकको गोलबाट युएईले खेलमा अग्रता बनाएको थियो । कप्तान अलि मबखौतले ३६औं मिनटमा पेनाल्टीबाट तथा ४४औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारे ।

पहिलो हाफ कै इन्जुरी समयमा फाबियो लिमाले चौथो गोल गर्दै युएईको जित सुनिश्चित गरे । दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन गरे तापनि खेलको नतिजामा भने परिवर्तन ल्याउन सकेन ।

नेपालले आफ्नो दोस्रो खेल आउँदो मंसिर ५ गतेका दिन दशरथ रंगशालामा यमनसँग खेल्ने कार्यक्रम तय भईसकेको छ ।

Post Comments