News लेडी जेसीज कपको उपाधिका लागि रौतहट र धनगढी भिड्ने
गोलनेपाल

चितवनमा जारी लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि रौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाइनल खेल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो ।

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १-० ले पराजित गर्यो । प्रतिस्पर्धात्मक खेलमा रौतहटलाई जिताउन मेनुका आले मगरले निर्णायक गोल गरिन् । उनले खेलको अतिरिक्त समयमा गोल गर्दै रौतहटलाई उपाधि नजिक पुराएकी हुन् । खेल अवधिभर रौतहटलाई रोकेको गोकर्णेश्वर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित भयो ।

मेनुकाले प्लेयर अफ दि म्याच बन्दै पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

यस्तै दोस्रो सेमिफाइनलमा गैंडाकोट फुटबल क्लबलाई हराउदै धनगढीले रौतहटसँगको उपाधि भिडन्त पक्का गर्यो । फाइनलमा स्थान बनाउन धनगढीले गैंडाकोटलाई २-० ले हरायो । उसको जितमा कप्तान निरु थापाले एक गोल गरिन् भने अर्को एक गोल धनगढीले उपहार पायो । निरुले २५ औं मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएकी थिन् । ३५ औं मिनेटमा गैंडाकोटकी कप्तान पुस्तिका वाग्लेले आत्मघाती गोल गरिन् । उनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टको जाली चुम्यो ।

धनगढीकी कप्तान निरु प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । उपाधि भिडन्त मंसिर ९ गते शनिबार दिउँसो २ बजे हुनेछ ।

नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Post Comments