बसन्तपुर । रड्स फुटबल क्लब र प्याराडाईज युवा क्लब यहाँ जारी माडी गोल्डकप राष्ट्रिय यु–१८ नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
माडी, चितवन स्थित बसन्तपुर बजारको खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ रड्सले हातेमालो फुटबल क्लबलाई १–० ले हराउँदै क्वाटरफाइनल स्थान तय गर्यो । रड्सको जितमा सनसाईन मल्लले एक मात्र निर्णायक गोल गरे । साथै निर्णायक गोलकर्ता मल्ल नै खेलको म्यान अफ दि म्याच बने ।
त्यस्तै अर्को प्रिक्वाटरफाइनल खेलमा प्याराडाईजले थ्रीस्टार युवा क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा प्याराडाईजका गोलरक्षक बिनय तामाङ म्यान अफ दि म्याच चुनिए ।
बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।