News पटिहानी र प्याराडाईज सेमिफाइनलमा
गोलनेपाल

माडी । पटिहानी फुटबल क्लब र प्याराडाईज युवा क्लब चितवनमा जारी २७औं माडी गोल्डकप राष्ट्रिय यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छन् ।

मंगलबार भएको दिनको पहिलो खेल र दोस्रो क्वाटरफाइनलतर्फ पटिहानीले रड्स फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा पटिहानी ४–२ ले विजयी बन्यो । खेलमा पटिहानीका गोलरक्षक आयुष दराई म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेल र तेस्रो क्वाटरफाइनलतर्फ प्याराडाईजले वाल्मिकी शिक्षा सदनलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । खेलमा प्याराडाईजका सुजन चेपाङ म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ ७ गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मर्दिखोला युनाइटेड र अभिषेक चर्च फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष नबिन बस्यालले जानकारी दिए ।

बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments