News प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग: मेचीनगर नगरपालिका विजयी
गोलनेपाल

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ।

आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंक छ ।
मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको २८ औँ मिनेटमा मेचीनगरका अरुण मेचेले गोल गरे । त्यस्तै, खेलको ५८ औँ र ६५ औँ मिनेटमा निरज कार्कीले गोल गरेर जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका निरज कार्की भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीचको दोस्रो खेल बराबरीमा टुंगियो । दुवै टिमबाट गोल हुन नसकेपछि अंक बाँड्न बाध्य भए ।

यसैबीच, आजको खेलसँगै समूह क को लिग चरण सकिएको छ । यो समूहबाट हल्दिबारी बाहिरिएको छ । बुद्धशान्ति ४ अंकका साथ समूह विजेता बनेको छ भने बिर्तामोड २ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका पवन नेपाली दर्जी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, समाजसेवी श्याम प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

Post Comments