News दुहबी गोल्डकप पनि स्थगित, आयोजकको गुनासो पनि उस्तै
गोलनेपाल

इटहरी । चैत्रको पहिलो सातादेखि शुरु हुने भनिएको चौथो मनमोहन दुहबी गोल्डकप पनि कोरोना भाइरस कै सन्त्रासका कारण तत्कालका लागि स्थगित भएको छ ।

इलेभन एरोज क्लब, दुहबी सुनसरीको आयोजनामा यहि आउँदो चैत्र १ देखि ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने मिति तोकिएको थियो । यद्यपि एन्फा र प्रशासनले तत्कालका लागि अत्याधिक भिडभाड हुने् खेलकुद गतिविधी तथा कार्यक्रम तत्कालका लागि नगर्न अपिल गरेपछि प्रतियोगिता स्थगित गरिएको आयोजक क्लबका अध्यक्ष दिपक राईले बताए ।

कुराकानीका क्रममा अध्यक्ष राईले तोकिएकै मितिमा प्रतियोगिता गर्ने योजना रहे तापनि तत्कालका लागि स्थगित गर्नुपरेको बताए । अध्यक्ष राई भन्छन्, "अब एन्फाले स्वीकृति दिएपछि गर्ने हो । हाललाई स्थगित गरेका छौं ।"

साथै उनले प्रतियोगिताको नयाँ आयोजना मितिबारे अनिश्चितता व्यक्त गरे । अब कहिले गर्ने योजनामा हुनुहुन्छ त? भन्ने प्रश्नमा राई भन्छन्, "खै कहिले गर्ने हो भन्ने अवस्था हामीसँग छैन । वैशाखसम्म मौसमले पनि साथ देला, त्यसपछि त गाह्रै पर्छ होला ।"

उनका अनुसार क्लब चलाउन कै लागि भए पनि प्रतियोगिता आयोजना गर्नुको विकल्प नरहेको बताए । अध्यक्ष राई अगाडी भन्छन्, "क्लब चलाउन पर्यो । प्रतियोगिता नगरि हुँदैन । क्लबमा आवश्यक फन्ड जम्मा गर्न पनि प्रतियोगिता आयोजना गर्नुपर्छ । यो बाहेक अन्य उपाय पनि छैन ।"

साथै उनले कोरोना भाइरसबारे सामाजिक सञ्जालमा अनावश्यक त्रास फैलाइएकोमा पनि दुःखेसो व्यक्त गरे । राई भन्छन्, "सामाजिक सञ्जालले अनावश्यक हल्ला फैलाएर पनि प्रतियोगिता रोकियो । खै! यहाँ अहिलेसम्म कुनै बिरामी भेटिएको छैन । यसरी हल्ला फैलिंदा प्रतियोगिता हेर्न आउने दर्शकको संख्या पनि घट्छ । त्यसैले तत्काल प्रतियोगिता गर्ने आँट गरेका छैनौं ।"

अध्यक्ष राईले एन्फाको नयाँ सूचना जारी नुहँदासम्मका लागि प्रतियोगिता स्थगित गरिएको बताए । तर, आफूहरु प्रतियोगिता आयोजना भने गर्ने पक्षमा रहेको समेत स्पष्ट पारे । उनका अनुसार प्रतियोगिताको विजेताले यसपटक ८ लाख र उपविजेताले ४ लाख पाउने गरी तयारी गरिएको समेत बताए ।

साथै उनले खेलकुद बुझेकाहरु पनि सम्बन्धित पदमा पुगेपछि आफ्नो जिम्मेवारी बिर्सने गरेकोमा दुःखेसो समेत पोखे । उनले अन्तिममा भनेका छन्, "खेलकुदमा जिन्दगी बिताएकाहरु पनि त्यो राखेप र ओलम्पिक कमिटिमा पुगेपछी लम्पसार नै परेको देख्दा चाहिं सारै दुख लाग्छ !" 

Post Comments