News किरात गोल्डकपको अन्तिम चारमा डाँगीहाट
रमेश समदर्शी

फिदिम । फराकिलो गोलअन्तरमा जित निकाल्दै मोरङको डाँगीहाट एफसी यहाँ जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अप्रत्यासित नतिजा निकाल्दै मोरङ पाहुना टोली युनाइटेड एफसी दार्जीलिङलाई पहिलो चरणमै घर फर्काएको हो । मोरङले ६-३ गोलअन्तरमा दार्जीलिङलाई पराजित गरेर समर्थकको मन जित्न सफल भयो ।

मोरङको जितमा खेलको ८ मिनेटमै उमेश राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । मोरङका लागि पहिलो हाफमै ३ गोल सम्भव भएको थियो । ३९औँ मिनेटमा सञ्जय धिमालले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफकै इन्जुरी समयमा अरुण लिम्बुले गोल गरेर ३-० गोलको फराकिलो अन्तर निकालेको थियो ।

यसैगरी दोस्रो हाफको २ मिनेटमै सञ्जय धिमालले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० गोलको अन्तर निकाले । दोस्रो हाफको ४ मिनेटमा रिबाउन्ड बललाई अभिषेक लिम्बूले गोल गर्दै मोरङलाई ५-० गोलको अग्रता दिलाए । मोरङको छैटोँ गोल अभिषेक लिम्बूले नै दोस्रो ६१औँ मिनेटमा गोल गरेका थिए ।

दाजीृलिङका खेलाडी दोस्रो हाफमा फर्किन खोजेको थियो । दार्जीलिङका राेहित थापाले दाेस्राे हाफकाे १०औँ मिनेटमा गोलको खाता खोलेका थिए । तेस्रो क्वाटरफाइनल खेलमा ५-१ गोलको अवस्थामा फेरि दार्जीलिङका आशिष राईले गोल गरे । आशिष राईले ५३औँ मिनेटमा गाेल गरेका हुन् ।

दोस्रो हाफको ३६औँ मिनेटमा दार्जीलिङका कप्तान गणेश लिम्बूले गोल गरेर ६-३ गोलको अवस्थामा ल्याइपुराए । उमंग राईको पासमा उनले गोल गरेका हुन् । तर, जितका लागि सम्भावना थिएन । खेलको म्यान अफ दी म्याच मोरङका अभिषेक लिम्बू बने । उनले नगद ५ हजार पाए ।

पाँचथर एफसीले आयोजना गरेको गोल्डकपमा (भोलि) मंगलबार अन्तिम क्वाटरफाइनल खेल काठमाडौँको हिमालयन एफसीले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मंसिर २३ गते हुने फाइनल खेलको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार र २२२ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
Post Comments