News डाँगीहाट प्रथम किरात गोल्डकपको फाइनलमा
रमेश समदर्शी

पाँचथर । मोरङको डाँगीहाट एफसी फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा आयोजक पाँचथर एफसीमाथि बाजी मार्दै डाँगीहाट उपाधि नजिक पुगेको हो ।

आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पाँचथरविरुद्ध टाइब्रेकरमा ४-१ गोलअन्तरमा मोरङ फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलको निर्णय टाइब्रेकरबाट लिइँदा पाँचथरका कप्तान रोशन आङ्देम्बेको प्रहार बाहिरिएको थियो भने प्रकाश धमलाको प्रहार डाँगीहाटका गोलरक्षक प्रमिजय गच्छदारले रोकेका थिए । पाँचथरका लागि असिम राईको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

डाँगीहाटका लागि उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच डाँगीहाटका गोलरक्षक प्रमिजय गच्छदार भए । उनले नगद ५ हजार पाए ।

आजको विजेता टोली डाँगीहाटले फाइनल पुग्दै कम्तिमा २ लाख २ हजार २२२ रुपैयाँ सुरक्षित गरेर्को छ । गोल्डकपको विजेता टोलीले नगद ४ लाख ४ हजार ४४४ र ट्रफी पाउने छ ।

भोलि झापाको बिर्तामोड युनाइटेडले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

Post Comments