News राष्ट्रिय खेलाडीले टिकट बिक्रीबाट थप २० प्रतिशत रकम पाउने (पत्रसहित)
गोलनेपाल

काठमाडौं । विभिन्न उमेर समुहसँगै राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा टिकट बिक्रीबाट उठेको २० प्रतिशत थप रकम पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको छैठौं कार्यसमितिको बैठकले खेलाडीहरुको हकमा उक्त निर्णय गरेको हो । साथै घरेलु मैदानमा हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उपलब्ध गराउँदै आइएको निःशुल्क पास सिस्टम पूर्ण रुपमा बन्द गरिने निर्णय पनि बैठकले गरेको छ ।

साथै बैठकले सी डिभिजन लिग फागुन १५ गतेबाट गर्ने निर्णयलाई अनुमोदन समेत गरेको छ । त्यस्तै ए, बी डिभिजन लिग, महिला लिग, जिल्ला लिग आयोजनाबारे सम्बन्धित निकायहरुसँग समन्वय गरी एन्फा सचिवालयबाट मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसवाहेक एन्फाले महिला साफ च्याम्पियनसिप फेरि नेपाल मै गर्न दावी पेश गर्ने समेत भएको छ । साथै सन् २०२४ देखि आयोजना हुने भनिएको साफ क्लब च्याम्पियनसिपका लागि आवश्यक मापदण्ड पूरा गर्ने नेपाली क्लबलाई सहभागिता गराइने निर्णय पनि बैठकमा भएको एन्फाले जनाएको छ ।

त्यसैगरी एन्फाको सिइओमा निवर्तमान महासचिव इन्द्रमान तुलाधरलाई नियुक्त गर्ने निर्णय भएको छ । सहायक कोषाध्यक्षमा प्रविण कुमार यादवलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै ब्लड क्यान्सर पिडित फुटबल प्रशिक्षक प्रकाश दहाललाई एन्फाले नगद ३ लाख सहयोग गर्ने निर्णय पनि भएको छ ।

बैठकमा भएका अन्य विविध निर्णयहरुबारे विस्तृत रुपमा पत्रमा पढ्नुहोस्ः

 

 

Post Comments