News सैनिकलाई पिएफसी इमर्जिङ कपको उपाधि
गोलनेपाल

भरतपुर । ‘पिएफसी इमर्जिङ कप—२०८०’ अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि सैनिक महाविद्यालय चैनपुरले हात पारेको छ । भरतपुर– १४ को सुन्दरवस्ती खेलमैदानमा भएको फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई १—० ले पराजित गर्दै सैनिक महाविद्यालयले उपाधि हात पारेको हो ।

विजेता बनेको सैनिक महाविद्यालयले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामाग्री, उपविजेता वाल्मीकि शिक्षा सदनले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा अनुशासित टिमको पुरस्कार आदिकवि भानुभक्त माध्यामिक विद्यालयले प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडी तर्फ सैनिक महाविद्यालयका सन्तोष न्यौपाने घोषित भए ।

यस्तै सैनिककै कुसल थापा मगर उत्कृष्ट मिडफिल्डर, पारिजात बोर्डिङ स्कुलका किशोर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, आदिकवि भानुभक्त माविका किसन कार्की उत्कृष्ट रक्षक र वाल्मीकि शिक्षा सदनका चेसन लोप्चन उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

विजयीहरुलाई भरतपुर १४ का वडाअध्यक्ष राजेन्द्र शाखीले पुरस्कार प्रदान गर्दै खेलकुदको विकासमा स्थानिय युवा क्लब र युवाहरुको महत्वपूर्ण भुमिका हुने बताए । उनले वडाले युवा र खेलकुद मैत्री गतिविधिलाई सधै प्राथमिकतामा राख्ने गरेको समेत सुनाए ।

यस प्रतियोगिताको प्रवद्र्धकको रुपमा भरतपुर १४ र २२ रहेका थिए । शिक्षासंगै खेलकुद भन्ने नारा सहित चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको प्रतियोगीतामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरु सहभागी थिए । क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यवसायिक बनाउनका लागि नियमित रुपमा प्रतियोगिता आयोजना गरेका हौं। जुन कार्य प्रभावकारी हुदैँ आएको छ।’

Post Comments