News राजर्षि जनक कपको उपाधि पुलिसको पोल्टामा
गोलनेपाल

बागमती । चौथो राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्न सफल भएको छ । आइतबार भएको फाइनल भिडन्तमा पुलिसले कंचनजंगा एफसी, भारतलाई २–१ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको फाइनल भिडन्तमा सबै गोलहरु शुरुवाती २० मिनट भित्र भएका थिए । खेल शुरु भएको पहिलो मिनटमै तिर्थ बहादुर रानाको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । लगतै १२औं मिनटमा भेट्रान फरवार्ड जुमानु राईले पुलिसको अग्रता दोब्बर पारे ।

उता पराजित कंचनजंगाका लागि १९औं मिनटमा अमिर लामाले एक गोल फर्काए । यद्यपि त्यसपछिको समय भित्र पाहुना टोलीले गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

खेलमा कंचनजंगाका सोब्रोतो सोरेन म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । विजेता बनेको पुलिसले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेताले ५ लाख प्राप्त गर्यो ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा फागुन २२ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments