News मुनाललाई जिल्लास्तरीय फुटबलको उपाधि
गोलनेपाल

झापा । मुनाल क्लब चन्द्रगढिले वाइ–वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा झापा एफसीलाई सडन डेथमा पराजित गर्दै मुनालले उपाधि उचालेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको सातौं मिनटमै मुनालका लागि बिकास राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि उता ४०औं मिनटमा झापाका लागि श्याम मुर्मुले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै खेलको ५७औँ मिनेटमा मुनालका श्याम मुर्मुले झापा एफसीका गणेश हेमरमलाई फल गरेपछि रातो कार्ड खाँदै मैदान छाड्दा मुनाल थप दबाबमा परेको थियो । तर पनि मुनालले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियायगिताको बिजेता बनेको मुनाल क्लब चन्द्रगढिले नगद ५० हजार रुपैँया ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्याे भने उप–विजेता झापा एफसीले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र हात पार्यो ।

प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी झापा एफसीका श्याम मुर्मु घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता आयोजक सृजनसिल युवा समाजका बबिन बोहोरा बने भने उत्कृष्ट डिफेन्डर विजेता मुनाल क्लबका मित्र बस्नेत चुनिए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर झापा एफसीका अभिषेक राई बन्दा उत्तकृष्ट गोलकिपर मुनाल क्लब चन्द्रगढिका बिप्लप गुरुङ्ग घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ३–३ हजार प्राप्त गरे । त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच मुनाल क्लब चन्द्रगढिका बिकास राई घोषित भए ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले (मामा), जिल्ला फुटबल संघ झापाका उपाध्यक्ष मनिष दहाल, जिल्ला खेलकुद विकाश समितिका शंकर थापाले पुरस्कृत गरेका थिए ।

Post Comments