News अभिषेक चर्च र लङ्दीदेवी सेमिफाइनलमा
गोलनेपाल

बेसीशहर । अभिषेक चर्च, रजहर र लङ्दीदेवी युथ क्लब, नाल्मा यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिवेणी रंगशालामा भएको दिनको पहिलो क्वाटरफाइनलमा अभिषेक चर्चले सुन्दरबजार फुटबल क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा अभिषेक चर्चका कृषल मोक्तान म्यान अफ द म्याच घोषित भए ।

दोस्रो क्वाटरफाइनलमा लङ्दीदेवीले विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ५–४ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ पुलिसका लागि उज्ज्वल राई र हेमन्त श्रेष्ठले गोल गरे भने लङ्दीदेवीका लागि दिपेश आले र प्रदिप लामाले गोल गरेका थिए । खेलमा लङ्दीदेवीका कप्तान आशिष गुरुङ म्यान अफ द म्याच चुनिए ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

 

Post Comments