News एपिएफ ३२औं त्रिवेणी कपको फाइनलमा
गोलनेपाल

बेसीशहर । प्रदिप लामा निर्णायक बनेपछि विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौं यहाँ जारी प्रतिष्ठित ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा एपिएफले आयोजक त्रिवेणी युवा क्लब, बेसीशहरलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा शुरुवाती अग्रता पनि एपिएफले लिएको थियो । खेलको २१औं मिनटमा हरि कार्कीको गोलबाट अग्रता बनाएको एपिएफले त्यो अग्रता पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

दोस्रो हाफको ६७औं मिनटमा सुनिल खड्काले घरेलु टोली त्रिवेणीका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछि खेल रोमाञ्चक मोडतर्फ लम्किरहेका बेला अन्तिमतिर ८७औं मिनटमा प्रदिप लामाले एपिएफका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

निर्णायक गोल गरेका एपिएफका प्रदिप लामा नै खेलको म्यान अफ दि म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । एपिएफले अब शुक्रबार नै हुने बुद्ध युवा क्लब, भोटेबडार र टोखा भगवती एफसी, काठमाडौं बीचको दोस्रो सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ ।

Post Comments