
बेसीशहर । आयोजक त्रिवेणी युवा क्लब, बेसीशहर र बुद्ध युवा क्लब, भोटेबडार जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलतर्फ आयोजक त्रिवेणीले अभिषेक चर्च, रजहरलाई ६–० को फराकिलो अन्तरले हरायो । त्रिवेणीको जितमा सुनिल खड्का र राम वजीले समान दुई–दुई गोल गरे । त्यस्तै मिलन राई र निशान लिम्बुले थप एक–एक गोल गरे ।
खेलमा दुई गोल गरेका त्रिवेणीका सुनिल खड्का म्यान अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । त्रिवेणीले शुक्रबार हुने पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लब, काठमाडौंको सामना गर्नेछ ।
त्यस्तै बिहीबार नै भएको चौथो क्वाटरफाइनलतर्फ बुद्ध युवा क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई १–० को झिनो अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो । बुद्धका लागि खेलको १५औं मिनटमा सन्त बहादुर गुरुङ्गले एक मात्र निर्णायक गोल गरे ।
खेल अवधिभर अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखे तापनि आर्मीले गोल गर्न भने असफल रह्यो । खेलमा बुद्धका अफ्रिकी खेलाडी इमानुएल ओलाडिमो बोटेङ म्यान अफ दि म्याच चुनिए । बुद्ध युवा क्लबले अब शुक्रबार नै हुने दोस्रो सेमिफाइनलमा टोखा भगवती क्लब, काठमाडौंसँग खेल्नेछ ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।